ललितपुर । प्रहरीले 'सुसाइड' गर्न लागेका एक डाक्टरलाई उद्धार गरेको छ । आत्महत्याका लागि विभिन्न थरिका आैषधी ओभरडोज सेवन गरेर छटपटाई रहेका ती डाक्टरलाई मंगलबार मध्यराती उद्वार गरेको हो । उनको इमाडोलमा रहेको किष्ट मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी मार्फत ललितपुर प्रहरीको कन्ट्रोलमा एक युवतीले फोन गरेर डाक्टरले आत्महत्या गर्न लागेको सूचना दिएपछि महानगरीय प्रहरी प्रभाग इमाडोलको टोलीले उनको उद्वार गरेको हो ।
महानगरीय प्रहरी परिसर ललितपुर एक अधिकारीका अनुसार प्रभागबाट प्रहरी निरीक्षक विजय तिमल्सेनाको नेतृत्वमा रहेको प्रहरी टोली सूचना पाएको केही मिनेटमा घटनास्थल पुगेको थियो। उनी खतरामुक्त छन् ।
प्रहरीका अनुसार पर्सा घर भएका ती २९ वर्षीय डाक्टर किष्ट मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरेर एमडीको तयारीमा थिए।
महालक्ष्मी नगरपालिकामा डेरा गरिबस्ने उनी एक युवतीसँग एकतर्फी प्रेम सम्बन्धमा थिए।
मंगलबार ती युवतीको अन्य युवासँग विवाह भएपछि उनले एउटा सामाजिक सञ्जालमा आत्महत्याको पूर्व जानकारी दिएर त्यसको प्रयास गरेका थिए।
सो सामाजिक सञ्जालमा रहेकी एक युवतीले जानकारी दिएपछि प्रहरी उद्वारमा सक्रिय भएको थियो ।
आफै चिकित्सक रहेका उनले डेरामा राखिएका विभिन्न थरीका आैषधीका संयौं गोली खाएका थिए ।
घटनाको बारे थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।