काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेर तीन घण्टा हिरासतमा राखेको विरोधमा नेपाल विद्यार्थी संघले बुधबार साँझ काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । तनहुँको व्यास नगरपालिकामा रहेको एक पुलको उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै बुधबार गिरफ्तार गरेको थियो । कांग्रेसले उनको गिरफ्तारीलाई सरकारको अधिनायकवादी चरित्रको प्रदर्शन भनेको छ । केही घन्टा नियन्त्रणमा लिएर साँझै पौडेललाई प्रहरीले रिहा गरेको छ । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई नेविसंघका अध्यक्ष राजीव ढुंगाना लगायतले सम्बोधन गरेका थिए । गिरफ्तारीको विरोधमा दमौली, बाग्लुड र पोखरामा पनि विरोध प्रदर्शन गरिएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता पौडेलको गिरफ्तारीलाई आपत्तिजनक र निन्दनीय भनेका छन् । उनले एक विज्ञप्ति प्रकाशित गरी सरकारको यस्तो प्रवृतिविरुद्ध देशव्यापी प्रतिरोध गरिने पनि बताएका छन् ।
पौडेलले पनि आफूलाई पक्राउ गरी ओली सरकारले आफ्नो अधिनायकवादी अभिष्टको प्रदर्शन गरेको बताएका थिए ।कांग्रेसका युवा नेता गगनकुमार थापाले पनि पार्टीका वरिष्ठ नेता पौडेलको गिरफ्तारी प्रधानमन्त्री केपी शर्मा ओलीका लागि निकै महँगो पर्ने चेतावनी दिएका छन्।