Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

दैनिकी न्यूज

२१, मंसिर २०७७
सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु
images

काठमाडौं । डोटी, रुपन्देही, दाङ, उदयपुर, भक्तपुर र झापाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

डोटी, बोगटान गाउँपालिका-७ स्थित सडकमा म.१ च ५५० नम्बरको जीप पियुसिया भीरबाट करिब २ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा के आई सिंह गाउँपालिका-४ चनकेसैन बस्ने ४० वर्षीय हरिनारायण भट्ट लगायत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिप चालक सहित ५ जनालाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायलतर्फ पठाइएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-१५ सखुवानी चोकमा बा.१२ च ५९६८ नम्बरको स्कारपियो गाडीले लु.७ प १५२० नम्बरको स्कुटरलाई शनिबार साँझ ठक्कर दिँदा स्कुटर चालक तिलोत्तमा नगरपालिका-१७ भलौरिया बस्ने २७ वर्षीया प्रमिता गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, घोराही उपमहानगरपालिका-१७ सिस्नेखोलास्थित सडकमा प्रदेश ३-०१-०२२ च ६३६९ नम्बरको हाईलेक्स गाडी अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खेतमा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय बिजय अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही प्रतिष्ठान हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

उदयपुर, बेलका नगरपालिका-८ सेतीखोलास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ४० वर्षीय हरि खड्काको शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।


भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ कौशल्टारस्थित सडकमा बा.८ च ४७५६ नम्बरको कार प्रबिन पम्प नजिक सडकको विचको फलाममा ठक्किएर शनिबार राति दुर्घटना हुँदा काठमाडौं, काठमाडौं महानगरपालिका-४ पिपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको छ । घाइते भएकी उनलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । कारमा सवार २ जना सामान्य घाइते भएका छन् । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, शिवसताक्षी नगरपालिका-८ स्थित सडकमा को.२ प ६९७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-११ बस्ने ३२ वर्षीय रमेश बिष्टको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका सोही ठाउँ बस्ने ३९ वर्षीय ईश्वरी प्रसाद तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - १२:५३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology