सत्तारूढ दल नेकपाको आइतबार बसेको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक पार्टीका केन्द्रिय सदस्य कमानसिं लामाको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो। नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। अर्को बैठक पुस १ गते १ बजे बस्ने छ। पूर्व राजदूत एवम् पूर्व सांसद लामाको गएको मंसिर २५ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
संसद र पार्टी कमिटीहरुमा हुँदै आएको प्रचलनअनुसार नै आजको बैठक स्थगित भएको श्रेष्ठले बताए। अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच सचिवालय बैठकमा आरोप–प्रत्यारोप चलेपछि पार्टी विवाद स्थायी कमिटीमा पुगेको छ। यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्। उनले स्थायी कमिटीमा पत्र पठाउँदै आफ्नो विवेक प्रयोग गर्न स्थायी कमिटी सदस्यहरूलाई आग्रह समेत गरेका थिए। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको आरोप पत्रमाथि हुने छलफलमा भाग लिन नसक्ने समेत ओलीको पत्रमा उल्लेख थियाे।