काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीप्रती तीब्र आक्रोश ब्यक्त गरेका छन् । ओलीले घोषणा गरेको चुनाव हुने आफू ठूलो दल हुने आस नगर्न कांग्रेसलाई पनि सुझाव दिए । संसद् विघटनविरुद्ध काठमाडौंमा आइतबार जसपाले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै डा. भट्टराईले संसद पुनर्थापना मुख्य मुद्दा चर्काउनु पर्ने बताए । चुनाव घोषणा गर्दैमा आफू ठूलो दल हुने आस काङ्ग्रेसले गरेको ब्गए त्यो आत्मघाती हुने चेतावनी दिए । राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेको र आफूहरु नगएको भट्टराईले स्मरण गराए । भट्टराईले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई विद्रोहद्वारा पुनःस्थापना गर्ने र आन्दोलनलाई जारी राख्ने बताए । उनले भने, ‘अमृतलाई हेरेर कांग्रेसलाई नलोभिन हाम्रो आग्रह छ । ढुलमुले पाराले ओलीबाट सत्ता झर्ला र खाउला भन्ने कांग्रेसले नसाचे हुन्छ ।’ सबैलाई एकमत भएर सडकमा आउनै पर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीको पछिल्लो कदम अलोकतान्त्रिक भएको जनाउँदै उनले भने, ‘संवैधानिक व्यवस्थामाथि ओलीले खड्ग प्रहार गरेका छन् । गणतन्त्रको बेला बयलगाडामा अमेरिका पुगिँदैन भन्ने ओलीले अहिले चुनाव गराउनका लागि घोषणा गरेका होइनन् ।’ उनले अदालतप्रति झिनो आसामात्रै रहेको बताए । भने, ‘हामी सडकबाटै संसद् पुनःस्थापना गर्ने हो । न्यायाधीशप्रति सम्मान छ । तर केपी ओलीले सबै संस्थामा आफ्नो खल्तीबाट मान्छे लगेर राखेका छन् । त्यही भएर सडक आन्दोलनको विकल्प छैन ।’ भट्टराईले दाहाल र नेपाललाई कित्ता क्लियर गर्न पनि सुझाए । भने, ‘ओली सुध्रिएर आए सँगै लान्छौं भन्ने अब छोड्नुपर्छ ।’ सभामुखले प्रतिनिधिसभा बोलाउन पर्ने र विघटन गर्न नहुने पनि भट्टराईले बताए । उनले भने, ‘सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बोलाउन पर्छ । संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।’ यसैगरी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि ओलीले प्रतिगमन गरेकाले यसलाई सडकबाट नै प्रतिरोध गर्नुपर्नेमा जोड दिए।