काठमाडौं । काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्षको चुनाव गराउने भए आफु नेकपाको अध्यक्ष छोड्न तयार रहेको बताएका छन् । सुदुरपश्चिमबाट काठमाडौं बसेका कार्यकर्ताको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको बृहत् भेलामा बोल्दै प्रधानमन्त्री ओलीले अध्यक्षको चुनाव गर्न प्रचण्ड र माधवकुमार नेपाल तयार हुनुपर्ने सर्त राखे । पार्टीभित्र आफू जहिले पनि निर्वाचित भएर आएको तर प्रचण्ड र नेपालले पार्टीभित्र हुने चुनावमा खुट्टा कमाएको उनले आरोप लगाए । 'उहाँहरू चुनावमा आउन तयार हुनुहुन्न । उहाँहरू अध्यक्ष मागिरहनुभएको छ । अध्यक्ष छोडिदिने हो, ठीक छ । आउनुस् न त चुनाव गरौं । म छोडिदिन्छु, चुनाव गरौं । चुनाव गर्न आँट गर्नुहुन्न,' ओलीले भने । उहाँहरु दुबैले सोझै अध्यक्ष दिनुपर्ने माग गरेको ओलीले आरोप लगाए । प्रचण्ड पार्टीभित्र कहिल्यै पनि चुनाव नगरी नेतृत्वमा बसेको भन्दै ओलीले आफू जहिल्यै प्रतिस्पर्धाबाट पार्टीको नेता भएको दाबी गरे । उनले आफू स्वास्थ्य स्थिति कठिन भएको बेलासमेत अध्यक्षमा लडेर निर्वाचित भएको भन्दै प्रतिस्पर्धाबाट नेतृत्वमा जाने भए आफू तयार रहेको बताए । 'केपी ओली तानाशाह भन्नुहुन्छ । एकपल्ट महाधिवेशन नगर्ने, एकपल्ट चुनाव नगर्ने, एकपल्ट प्रतिस्पर्धा नगर्ने, प्रतिस्पर्धा गरे हार्ने, हारे मतपत्र च्यात्ने त्यो इतिहासबाट आएको होइन केपी ओली,' उनले भने । तत्कालीन एमालेको संसदीय दलको नेतामा झलनाथ खनालसँग प्रतिस्पर्धा गरेर आएको र एमालेको नवौं महाधिवेशनमा पनि माधवकुमार नेपालसँग प्रतिस्पर्धा गरेर निर्वाचित भएको ओलीको भनाइ थियो । त्यतिबेला स्वास्थ्यस्थिति नाजुक भएको अवस्थामा पनि कार्यकर्ताहरूले आफूलाई निर्वाचित गरेको उनले स्मरण गरे । अध्यक्ष नेपाललाई निर्वाचन हार्दा पनि प्रधानमन्त्रीसम्म पुगेर दुनियाँलाई चकित पारेको र अहिले पनि महाधिवेशनमा पराजित हुँदा पनि पार्टी विभाजन गरेर अध्यक्ष भएको आरोप लगाए । उनले नेपालको आलोचना गर्दै भने, 'दुई ठाउँबाट चुनाव हार्ने, संविधानसभामा आउने । स्प्रिङ बोर्डमा उछिट्टिएजस्तो गर्ने । जम्प गरेर चुनावमा हारेको संविधानसभा सदस्य । संविसधानसभाको संवैधानिक समितिको सभापति अर्को स्प्रिङ बोर्डमा जम्प गरेको छ । अर्को स्प्रिङ बोर्डबाट हाइजम्प । जम्प, हाइजम्प, पोलजम्प । चुनाव हारेको मान्छे माथि पुगिराख्या, दुनियाँ छक्क। त्यस्तो लोकतन्त्र खोज्नुहुन्छ उहाँ ।' आफूलाई धम्क्याएर प्रधानमन्त्री नपाइने भन्दै त्यसका लागि पनि निर्वाचनमा जानुपर्ने ओलीको भनाइ थियो । लोकतान्त्रिक अभ्यासमा गएर नै पद पाइने उनले बताए ।