Logo

सोमवार, श्रावण २५ गते २०८३

images

राष्ट्रिय सभा अधिवेशनः प्रतिनिधि सभा विघटनप्रति चिन्ता

राष्ट्रिय सभा अधिवेशनः प्रतिनिधि सभा विघटनप्रति चिन्ता

दैनिकी न्यूज

१८, पौष २०७७
राष्ट्रिय सभा अधिवेशनः प्रतिनिधि सभा विघटनप्रति चिन्ता
images

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनको बैठकमा सत्तारुढ तथा विपक्षी दलका नेताहरूले उक्त विषय प्रवेश गराउनुभएको हो । पार्टीको अन्तर्विरोधका कारण जनप्रतिनिधिमूलक संस्था विघटन हुनु गलत भएको भन्दै आलोचना पनि भएको छ ।

अधिवेशन सुरु भएको अवसरमा मन्तव्यका क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता दीननाथ शर्माले पार्टीको अन्तर्विरोधका कारण प्रतिनिधि सभा विघटन हुनु दुःखद भएको बताउनुभयो । पार्टीको किचलोको छायाँ सदनमा पर्नु दुःखद भएको पनि उहाँको भनाइ छ । उहाँले हालको पार्टी विभाजनको अवस्था कुनै पनि सिद्धान्त र वैचारिक कारण नभएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पार्टी विभाजन सिद्धान्त, विचार वा दर्शनका आधारमा हुन गइरहेको छैन । केवल राजनीतिक कारणले मात्र विभाजन हुन गइरहेको छ । हिजो विभाजन विचार, दर्शन र सिद्धान्तका कारणले हुन्थे । सामान्य स्वार्थका कारण विभाजन भएका थिएनन् । कार्यनीति र रणनीति तथा सैद्धान्तिक र वैचारिक आधारमा भएका थिए । यो पटकको विभाजन राजनीतिक कारणले मात्र भएको छ ।’’

पार्टी विभाजनले सम्पूर्ण नेता कार्यकर्ता कसैको पनि पार्टी विभाजनले उदासीनता थपेको शर्माको भनाइ छ । राष्ट्रिय सभाको गरिमा र गौरवलाई ध्यानमा राखेर विघटनको विषय पनि उठान हुने उहाँको भनाइ छ ।

नेपाली काँग्रेसका तर्फबाट धारणा राख्दै सांसद जितेन्द्रनारायण देवले प्रतिनिधि सभा विघटन हुनु दुःखद भएको बताउनुभयो । उहाँले वर्तमान राजनीतिक परिदृश्यले लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने हो कि भन्दै आशङ्का व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने हो कि समाप्त नै हुने हो कि भन्ने लक्षण मडारिएका छन् । हामी जो अग्रगमनका लागि लडेका छौँ, सबै चिन्तित छौँ । प्रधानमन्त्रीले म ६४ प्रतिशत बहुमतमा भएकाले विघटन गरेँ, ठीक गरेँ, संवैधानिक गरेँ भनेर भनिरहनुभएको छ । तर पूरै देश अलोकतान्त्रिक र गैरसंवैधानिक भनिरहेको छ । मुद्दा विचाराधीन रहेकाले हाम्रो पार्टी धेरै टिप्पणी गर्दैन तर यति जरुर भन्छ यो पूरै असंवैधानिक छ, अलोकतान्त्रिक छ ।’’

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्या र देशको समस्यालाई फरक नछुट्याएको आरोप लगाउनुभयो । प्रधानमन्त्री हुँदादेखि नै राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अनुसन्धान विभागलाई आफू मातहत ल्याएर शक्तिको भोक देखाएको उहाँको आरोप छ । सांसद देवले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको पनि विरोध जनाउनुभयो । अध्यादेश संविधानको भावनाविपरीत भएकाले फिर्ता लिन पनि माग गर्नुभयो ।

यस्तै जनता समाजवादीका तर्फबाट दलको धारणा राख्दै सांसद प्रमिला कुमारीले प्रधानमन्त्रीको कदम २०१७ पुस १ गतेकै घटनाको पुनरावृत्ति भएको टिप्पणी गर्नुभयो । विघटनको निर्णय संविधानमाथिको ‘कू’ भएको उहाँको आरोप छ । विघटनको घटनालाई प्रधानमन्त्रीका शृङ्खलाबद्ध अभिव्यक्तिसँग जोडेर हेरिनुपर्ने पनि बताउनुभयो ।

त्यसअघि बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन प्रारम्भको पत्रको जानकारी दिइएको थियो । यस्तै बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको जानकारी गराइएको छ । बैठकले अधिवेशन नभएको अवस्थामा जारी राष्ट्रिय सभाका समिति गठनसम्बन्धी आदेश अनुमोदन गरेको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :पौष १८, २०७७ शनिवार - ०६:३७:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology