कञ्चनपुर । भारतीय क्षेत्रबाट गोली चल्दा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ चाँदनीका एक युवक घाइते भएका छन् । प्रहरीका अनुसार १८ वर्षीय नरेश सुनार भारतको वन क्षेत्रमा गोली लागेर घाइते भएका हुन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । गोली एसएसबीले चलाएको हो वा वन रक्षकले चलाएको हो, भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय कार्यालय कञ्चनपुरका एसपी मुकुन्द्र मरासिनीले बताए । गोली लागि घाइते सुनारलाई उपचारका लागि महाकाली अस्पताल ल्याइएको छ । सुनारका घुँडामुनि गोली लागेको छ । साँझपख सीमा नजिकैको भारतीय वन क्षेत्रमा गएका बेला अचानक गोली चलेको हो । दोधारा चाँदनी नगरपालिका १ का वडाध्यक्ष अर्जुनदत्त भट्टका अनुसार भारतीय वन क्षेत्रमा टीकका (सकवान) पात टिप्न गएका बेला सुनारमाथि गोली चलेको हो । सीमा क्षेत्रमा एसएसबी र वन रक्षकको संयुक्त टोलीले गस्ती गर्दै आएका छन् ।