Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कांग्रेस जनतामा जान पछि हट्दैन : सभापति देउवा

कांग्रेस जनतामा जान पछि हट्दैन : सभापति देउवा

दैनिकी न्यूज

२६, पौष २०७७
कांग्रेस जनतामा जान पछि हट्दैन : सभापति देउवा
images

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले निर्वाचनका पक्षमा फैसला गरे कांग्रेस निर्वाचनमा जाने बताएका छन्। देउवाले निर्वाचन भने वैशाखमै हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले शनिबार ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गरेको विरोध प्रदर्शनअन्तर्गत काठमाडौं–५ मा आयोजित कार्यक्रममा सभापति देउवाले जनताबीच जान कांग्रेस पछाडि नहट्ने स्पष्ट पारे। ‘जनताबीच जान कांग्रेस पछाडि हट्नुहुन्न। अदालतको निर्णय पर्खिनुपर्छ। अदालत स्वतन्त्र निकाय हो। यही निर्णय गर्नुपर्छ भन्नु हुन्न’, देउवाले भने, ‘अदालतको निर्णय कांग्रेसले मान्छ। निर्वाचनमा जानुपर्ने अवस्था आयो भने पनि हामी तयार हुनुपर्छ।’

उनले अदालतको निर्णयपछि सबै दल निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे। तर, तोकिएको समयमा निर्वाचन नभए प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकबाटै हटाउने चेतावनी उनले दिए। ‘निर्वाचन जसरी पनि गराउनुपर्छ। मलाई लाग्छ, प्रचण्डहरू पनि निर्वाचनमा आउनुहुन्छ’, उनले भने, ‘प्रधानमन्त्री ओलीले निर्वाचन गराउँदैनन् भनेर सबैले शंका गरिरहेका छन्। ओलीले चुनाव गराउनुभएन भने सडकबाटै हटाउन बाध्य हुनेछौं।’

उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले अदालतलाई सडकबाट दबाब दिन नहुने उल्लेख गरे। ‘प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक छ। तर, अदालतमा विचाराधीन मुद्दा भएकाले अदालतले जे निर्णय गर्छ त्यसलाई मान्नुपर्छ। अदालतले यही निर्णय गर्नुपर्छ भनेर दबाब दिनु हुँदैन’, उनले भने, ‘अदालतले विवेक प्रयोग गर्नुपर्छ।’

उनले पार्टीका कार्यकर्तालाई देशव्यापी विरोध प्रदर्शनका कार्यक्रमलाई जारी राख्न निर्देशन दिए। आवश्यक परे त्यसलाई चुनावी अभियान बनाउनुपर्ने उनको भनाइ थियो।

यो खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - ०६:२६:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology