Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रचण्ड फर्केपछि नेकपा सचिवालय बैठकले यस्तो गर्‍यो निर्णय

प्रचण्ड फर्केपछि नेकपा सचिवालय बैठकले यस्तो गर्‍यो निर्णय

दैनिकी न्यूज

२६, पौष २०७७
प्रचण्ड फर्केपछि नेकपा सचिवालय बैठकले यस्तो गर्‍यो निर्णय
images

काठमाडौं । प्रचण्ड- नेपाल नेतृत्वको नेकपाले चार पूर्वप्रधानन्याधीशहरुले संयुक्त वक्तव्य दिएकोमा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गरेको भन्दै उक्त कार्य आपत्तिजनक भएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको सचिवालय बैठकले जिम्मेवार नागरिकको हैसियतमा अहिलेको प्रतिनिधिसभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भनेर पूर्वप्रधानन्याधीसहरुले संयुक्त वक्तव्य दिएकोमा प्रधानमन्त्रीले अपमानित गरेको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो । ‘मुख्यत: चार पूर्वप्रधानन्याधीसहरुले देश जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता, सुशासनप्रतिको आफ्नो निष्ठाको कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा अहिलेको प्रतिनिधिसभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भनेर संयुक्त वक्तव्य दिनु भएकोमा उहाँहरुलाई प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गर्नुभएको छ । यो कार्य अत्यन्तै आपत्तिजनक छ । आजको बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा भर्त्सना गरेको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । यस्तै नेकपाले अधिनायकवादी र निरंकुश चरित्र बन्द गर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएको छ । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता प्रदर्शन गर्नुभएको चरित्र अधिनायकवादी र निरंकुश चरित्रको रुपमा लिँदै त्यस प्रकारको कार्य तत्काल रोख्न चेतावनी दिने निर्णय गरेको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने । प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्डको भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको जानकारी दिए । पत्नी सीता दाहालको उपचारका लागि पुस २० मा मुम्बई गएका अध्यक्ष प्रचण्ड पुस २५ मा फर्किएका थिए । सरकारले तत्काल राष्ट्रिय सभाको हिउँदे अधिवेशन छिट्टै अन्त्य गरेकोमा बैठकले विरोध जनाएको छ ।

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - २३:०९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology