ललितपुर । ललितपुरको चाँगाथलीमा एक दम्पती मृत भेटिएका छन् । महालक्ष्मी नगरपालिका वडा नम्बर ७, चाँगाथलीमा डेरा गरी बस्ने एक दम्पती मृत फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनका अनुसार सोमबार ११ बजेतिर रमेश खड्काको घरमा भुइ तलामा भाडामा बस्ने सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ३ स्थायी घर भएका ३२ वर्षीया सागर पोखरेल र २० वर्षीया श्रीमती निर्मला खनाल (पोखरेल) कोठामा मृत भेटिएको बताए । कोठाभित्रबाट चुकुल लगाइएको अवस्थामा उनीहरु मृत भेटिएको प्रहरीले बताएको छ ।
अनुसन्धानमा खटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटाका अनुसार कोठामा सेल्फस नामक विषादीको २ वटा खाली बट्टा भेटिएको थियो ।
त्यस्तै बान्ता गरेको जस्तो देखिने पदार्थसमेत फेला पारिएको र घटनाका सम्बन्धमा वृत सातदोबाटोबाट खटिएको प्रहरी टोली घटनास्थलमा लासजाँच प्रकृती मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान गरेको छ ।