Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सर्वाेच्चले प्रधानमन्त्री ओलीलाई किन बोलायो ?

सर्वाेच्चले प्रधानमन्त्री ओलीलाई किन बोलायो ?

दैनिकी न्यूज

१५, माघ २०७७
सर्वाेच्चले प्रधानमन्त्री ओलीलाई किन बोलायो ?
images

काठमाडौं । सर्वोच्च अदालतले मानहानी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँफै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको बिहीबारको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।

साथै, चार पूर्व प्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीका साथै पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि बाटोको म्यादबाहेक ७ दिनभित्र अवहेलना मुद्दामा जवाफ दिनका लागि उपस्थित हुन आदेश दिएको हो ।

प्रधानमन्त्री ओलीले माघ ९ गते प्रतिनिधिसभा विघटनको सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन मुद्दामा कानुन व्यवसायीका बारे अभिव्यक्ति दिएका थिए । उनले वकीलहरुले कुरा फिटेका फिट्यै गरेका छन् तर प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन र बाजे वकीललाई अदालतमा लिएर तमासा देखाएको भनेका थिए । यसरी अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतमा प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन हालेका थिए ।

प्रधानमन्त्री ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित गराएर बयान लिई कारबाही गर्नुपर्ने माग कानुन व्यवसायीहरूले गरेका थिए ।

प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधिवक्ताद्वय धनजित बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए ।
पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दर्ता गराएका थिए । ढुंगानाले विदेशमा न्यायाधीशरूलाई इजलासबाट सडकमा ल्याएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्ने अवस्था नआओस् भनेर अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै घिमिरेले रिट निवेदन दर्ता गराएका थिए ।

 

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १७:३९:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology