सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले गरेको संसद विघटन संवैधानिक रहेको दाबी गरेका छन् । उनले देश विकास र मुलुकमा शान्ति स्थापना गर्न संसद् विघटन गरेर नयाँ जनमत लिने प्रक्रियामा अगाडि हिँडेको बताए । प्रचण्ड-नेपालतिर संकेत गर्दै ओलीले हिम्मत भए निर्वाचनमा सहभागी भइ जनताको माझमा आउन चुनौती समेत दिए । ‘अबको संसद्लाई फेरि जोडघटाउ र किनबेचको थलो बनाउने प्रयास गरेकोले नै मैले संसद्को विघटनको सिफारिस गरेको हुँ’, पूर्व सांसद् हेमनारायण यादवको १७ औं स्मृतिसभालाई सोमबार सदरमुकाम सिरहामा सम्बोधन गर्दै उनले भने, ‘संवैधानिक संकट उत्पन्न हुन लागेको अवस्थामा भएको यो विघटन पूर्ण रुपले संवैधानिक छ र निर्धारित मितिमा चुनाव पनि निर्बाध रुपले सम्पन्न हुन्छ ।’ चुनावी सभाझैं गाउँगाउँबाट जनता भेला गरिएको स्मृति सभामा प्रधानमन्त्री ओलीले तोकिएकै मितिमा चुनाव हुने भएकाले देश बनाउने पक्षधरलाई जिताउन आह्वान गरे । ‘संसद् विघटन गरेर ताजा जनादेशका लागि तपाईंहरुमाझ आएको छु,’ उनले भने ‘विकासको पक्षमा आउने शक्तिलाई साथ दिएर जिताउनुस् ।’ उनले आफ्नो जीवन रहेसम्म विकास र सुशासनलाई पूर्णरुपले स्थापित गरी देशलाई नयाँ र समृद्ध नेपालको रुपमा विश्वभर चिनाउने प्रयासमा लागिरहने बताए ।