काठमाडौं । प्रतिनिधि सभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको प्रचण्ड -माधव कुमार नेपाल पक्षले गरेको बन्द खुलेको छ । आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक रुपमा बन्द सम्पन्न भएको बताए । बिहीबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म नेकपाको प्रचण्ड-नेपाल पक्षले आमहड्ताल आह्वान गरेको थियो । नेकपाले आह्वान गरेको बन्द ५ बजेदेखि खुलिसकेको छ । हाम्रो बन्द शान्ति र सफलतापूर्वक सम्पन्न भएको छ ।' शान्तिपूर्ण कार्यक्रम गर्दा पनि सरकारले प्रहरी बल लगाएको श्रेष्ठले दाबी गरे । उनले भने, 'हामीले शान्तिपूर्ण बन्द आह्वान गर्दा पनि प्रहरीले विभिन्न ठाउँमा बल प्रयोग गरेको छ । हाम्रा सयौं नेता कार्यकर्ता घाइते भएका छन् । सयौं नेता कार्यकर्ता पक्राउ परेका छन् ।' बन्दका क्रममा नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य रामचन्द्र झालगायतका नेताहरू घाइते भएका छन् । टाउकोमा चोट लागि गम्भीर घाइते भएका नेता झालाई थप उपचारका लागी जनकपुरबाट काठमाडौं ल्याइएको छ ।