Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जनयुद्ध दिवसका दिन प्रचण्डले गरे यस्तो चिन्ता

जनयुद्ध दिवसका दिन प्रचण्डले गरे यस्तो चिन्ता

दैनिकी न्यूज

१, फाल्गुण २०७७
जनयुद्ध दिवसका दिन प्रचण्डले गरे यस्तो चिन्ता
images

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले हजारौं सहिदको बलिदानीपछि लेखिएको संविधान नै धरापमा पर्ने हो कि भन्ने संशय पैदा भएको बताएका छन् । २६ औं जनयुद्ध दिवसको अवसरमा शनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठूलो बलिदानीपछि प्राप्त उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको बताएका हुन् । उनले भने, ‘यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ । कहीँ कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौ सहिदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको बेला पनि छ । यस्तो बेलामा तपाईंहरुले यो जीवनगाथा प्रकाशित गरेर वैधानिक ढंगले अगाडि ल्याउनुभयो । यसको विशेष अर्थ र महत्त्व नेपालको इतिहासमा रहिरहने छ भन्ने म ठान्छु । र यसले हामीले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरुको रक्षाका निम्ति पनि यसले प्रेरणा दिनेछ ।’ जनयुद्धमा सहिद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते योद्धाहरुको जीवनगाथा सार्वजनिक गर्नका लागि जनयुद्ध सुरु गरेकै दिन रोजेकोमा उनले बारबर्दिया नगरपालिकालाई धन्यवाद पनि दिए । युद्धकालीन समयमा योगदान पुर्याएका व्यक्तित्वका बारेमा विभिन्न पुस्तकहरु प्रकाशित भए पनि सरकारका तर्फबाट वैधानिक ढंगले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्तावेज भएको भन्दै जीवनगाथा प्रकाशित गर्नेमा देशभरीको पहिलो नगरपालिका भएकोमा पनि दाहालले बताए । अध्यक्ष दाहालले बारबर्दिया नगरपालिकाले गरेको यो कामले युद्धबाट पीडित देशभरका सबै परिवारले न्याय पाउने प्रेरणा हुने विश्वास आफूले लिएको बताए ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - १२:२५:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology