काठमाडौं । वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट राय दिँदै उनले प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न भएको बताएका हुन् । प्रतिनिधिसभा विघटन राजनीतिक प्रश्न नभएकैले यसमा सुनुवाइ गर्न नहुने भन्न नमिल्ने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएकाले कानुनी ‘रिभ्यु’ हुन नहुने लिखित जवाफ पेस गरेका थिए । उनले सार्वजनिक अभिव्यक्तिमा पनि आफूले राजनीतिक कदम चालेकाले अदालतले त्यसमा हात हाल्न नहुने भनेका थिए । उनका निजी वकिल र सरकारी कानुन व्यवसायीले पनि सोही कुरा इजलासलाई बताएका थिए । वरिष्ठ अधिवक्ता खरेलले भने, 'प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न हो । यसलाई राजनीतिक प्रश्न भन्न मिल्दैन ।' कसलाई मन्त्री नियुक्त गर्ने भन्नेमा प्रधानमन्त्रीको राजनीतिक निर्णय हुने तर संसद् विघटन राजनीतिक नभई संवैधानिक विषय हुने खरेलको भनाइ थियो । संसद् पुनःस्थापना भए अर्को प्रधानमन्त्री बन्ने विकल्प छ कि छैन भन्ने विषय भने राजनीतिक भएको खरेलले बताए । 'संसद् पुनःस्थापना भए अर्को प्रधानमन्त्री बन्छ कि बन्दैन भन्ने राजनीतिक विषय हो,' उनले भने । नेपाल बार र सर्वोच्च बारबाट इजलासले मगाएका ५ एमिकस क्युरीमध्ये इजलासमा राय राख्ने खरेल दोस्रो हुन् । मंगलबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राय राखेका थिए ।