Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कांग्रेसले अघि बढायो क्रियाशील सदस्यता छानबिन

कांग्रेसले अघि बढायो क्रियाशील सदस्यता छानबिन

दैनिकी न्यूज

९, फाल्गुण २०७७
कांग्रेसले अघि बढायो क्रियाशील सदस्यता छानबिन
images

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानबिनलाई तीव्रता दिएको छ ।

कांंग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको थियो । समितिको सदस्यमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी रहेका छन् ।

समितिको शुक्रबार बसेको पहिलो बैठकले तोकिएको मितिभित्र प्रक्रिया पुर्‍याई क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउन बाँकी रहेका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई लिखित पत्राचार गर्ने निर्णय गरेको छ । सो निर्णयबमोजिम क्रियाशील सदस्यताको नामावलीको प्रमाणित सूची, सदस्यता शुल्क, सहयोग रकम ९लेबी० र गाउँपालिका/नगरपालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपिसहित विवरण केन्द्रमा पठाउनुपर्ने छ ।  

क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धमा जिल्लामा हालसम्म भइरहेको कार्यप्रगतिको पछिल्लो अवस्थाको जानकारी लिन समिति सदस्य ढुंगाना र परियारलाई प्रदेश नम्बर-१ र २, घिमिरे र पौडेललाई वाग्मती र गण्डकी प्रदेश तथा गुरुङ र चौधरीलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी तोकिएको छ ।

यसैगरी, समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयमा सचिवद्वय डा। प्रदीप पराजुली (प्राविधिकतर्फ) र अधिवक्ता केशव रिजाल (प्रशासन र निर्णय प्रक्रियातर्फ) लाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ । कांग्रेस १३औँ महाधिवेशनको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको कार्यविधिलाई आवश्यक संशोधन र परिमार्जन गरी समितिका सचिव रिजालले यही फागुन ११ गते बस्ने समितिको अर्को बैठकमा मस्यौदा प्रस्तुत गर्ने बैठकको निर्णय छ ।

कांग्रेसको फागुन ६ गतेको केन्द्रीय कार्यसमिति बैठकले १४औँ महाधिवेशन वि.सं. २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । कांग्रेसले महाधिवेशनसँगै गाउँ/नगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँरनगरपालिका अधिवेशन असार ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १ गते कार्यतालिका निर्धारण गरेको छ । साथै, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने कांग्रेसको निर्णय छ ।

कांग्रेसले जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरण सम्पन्न गर्ने अवधि यही फागुन २८ गतेभित्र, क्रियाशील सदस्यता प्रकाशित गरी केन्द्रमा पठाउने अवधि आगामी चैत १० गतेभित्र तोकेको छ । यसैगरी, नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले उजुरीउपर छानबिन गरी केन्द्रमा पठाउनुपर्ने अवधि चैत २५ गते तोकिएको छ । केन्द्रीय छानबिन समितिमा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी परेका उजुरीउपर अन्तिम निर्णय गरी सूची तयार गरेर केन्द्रीय सभापतिलाई बुझाउने अवधि आगामी जेठ १७ गतेसम्म निर्धारण गरिएको छ ।

कांग्रेसले केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि आगामी जेठ २४ गतेभित्र तोकेको छ । कांग्रेसको संगठनमा महत्वपूर्ण मानिने क्रियाशील सदस्य संख्या हाल स्वदेश र विदेश (कांग्रेसका जनसम्पर्क समिति) गरी करिब पाँच लाख रहेको र आगामी अधिवेशनसम्ममा नयाँ र नवीकरण गरी १० लाख हाराहारी पुग्ने केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए ।

कांग्रेसमा समायोजन भएका नेपाल लोकतान्त्रिक फोरम, अखण्ड नेपाल, नेपाल समता पार्टीलगायत दल र पार्टीको जागरण अभियानका क्रममा देशभर विभिन्न राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका करिब एक लाख नेता कार्यकर्तालाई पनि छानबिन गरी क्रियाशील सदस्यता प्रदान गरिन लागेको पार्टी कार्यालयले जनाएको छ । रासस

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - ०९:०४:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology