चितवन । नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन सुझाएका छन् । मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभा विघटन गर्ने ओलीको असंवैधानिक कदमका कारण दुई महिनादेखि जनता पीडामा परेको भन्दै अब राजीनामा दिन सुझाव दिएका हुन् । 'म केपी ओलीलाई भन्न चाहन्छु, तपाईंले चालेका गलत कदमका कारण दुई महिनादेखि नेपाली जनतामा ठूलो पीडा र आवेग पैदा भयो । यदि तपाईंमा अलिकति पनि लाज छ । अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस् ।' राजीनामा नआए ओलीलाई इतिहासको कठघरामा नमजासँग मिल्काइने प्रचण्डले चेतावनी दिए। पुस ५ गते ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको छ । यसबीचमा नेकपा ओली समूहतिर लागेका नेता, कार्यकर्ताहरुलाई उनले कुनै भ्रममा नपरी आफ्नो समूहमा आउन अपील गरे । 'अब केपीको भुलभुलैयामा बस्ने समय छैन । संविधान र लोकतन्त्रको पक्षमा, मूल पार्टीमा आउनोस् हामी स्वागत गर्न तयार छौं,' प्रचण्डले भने । आफूलाई आजको दिन गौरवको अनुभूति भएको र यो ऐतिहासिक रहेको उनले बताए । यसअघि तोकिएका विरोध कार्यक्रमलाई देशभर विजय जुलुसका रुपमा मनाउन प्रचण्डले अपील गरे । 'अब हाम्रो विरोध प्रदर्शन विजय र्यालीमा परिणत भयो । हामी यहाँ प्रवेश गर्ने वित्तिकै बडो गौरवको फैसला आयो, यो ऐतिहासिक छ । म पार्टीको तर्फबाट देशभरि भएका साथीहरुलाई विजय र्याली गर्न विशेष अपील गर्छु ।' उनले संसद् पुन:स्थापना सबैको जित भएको उल्लेख गर्दै विभिन्न राजनीतिक दल, पार्टीका नेता, कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी लगायत उत्रिएका सबै जनालाई बधाई र धन्यवाद दिए । अब राजनीतिक दलहरुबीच सहमति र समझदारी गरी अगाडि बढ्ने भन्दै यो आफूहरुको लडाइँ कुर्सीको नभएको भनाइ दोहोर्याए ।