सिन्धुली । नेपाली कांग्रेसका युवा नेता तथ केन्द्रीय सदस्य गगन थापाले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेपनी सन्की प्रधानमन्त्रीले फेरि दुर्घटना गराउन सक्ने चिन्ता व्यक्त गरेका छन्। शनिबार सिन्धुलीको तीनपाटन गाउँपालिकाको चकमकेमा आयोजित सभालाई सम्बोधन गर्दै नेता थापाले सर्वोच्चले ठूलो दुर्घटना टारिदिए पनि सन्की प्रधानमन्त्रीका कारण ढुक्क हुन नसकिने बताए । 'मोड धेरै छन्, त्यस्तो सडकमा गाडी हाँक्ने चालक सन्की छन्', उनले भने, 'यस्तो अवस्थामा कांग्रेस जिम्मेवारपूर्वक लाग्नु पर्दछ ।' सर्वोच्च अदालतको आदेशपछि देशको अवस्था फेरिएको तर नेकपाको तमासा भने नफेरिएको भन्दै थापाले एकथरि नेकपालाई बढी लड्डु खाएर पखाला लागेको छ अर्कोथरिलाई लड्डु खान पाएनौं भन्ने चिन्ता रहेको बताए । ओली नेकपा उत्ताउलो भएको र प्रचण्ड-नेपाल नेकपा आत्तिएकाले कांग्रेसले देशलाई निकास दिनुपर्ने जिम्मेवारी आएको थापाको कथन छ । थापाले पाँच वर्ष कांग्रेसलाई जनताले सरकारमा बस्ने म्यान्डेट नदिएको खुलाए । प्रतिपक्षमा बसेको कांग्रेस प्रतिपक्षमै बस्ने र देशलाई निकास दिन सक्ने गरीमात्रै अगाडि बढ्ने उनको भनाइ थियो । 'हामी सरकारमा जाने हो तर अहिले होइन अब आउने चुनावमा सानदारका साथ जितेर जाने हो', उनले भने नेकपाले छोडेको भाग खान होइन आफैले बहुमत ल्याएर जाने हो ।'