काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने संसद् सचिवालयले सूचनामार्फत जनाएको छ । पुन:स्थापनापछि आइतबारका लागि डाकिएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको भन्दै कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह, जसपाका नेताहरुले सदनमा नाराबाजी गरेका थिए । कांग्रेसको विरोधका बीच अध्यादेश पेस गरिएको थियो । तर दाहाल नेपाल समूहका सांसदहरु भने त्यसअघि नै बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।