काठमाडौं । निर्वाचन आयोगले नेकपा सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामै फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आह्वान गर्ने भएको छ । मंगलबार बसेको आयोगको बैठकले सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी(ने क पा) खारेज भएकाले एकीकरण गर्ने भए पुन: निवेदन दिनका लागि जानकारी दिने निर्णय गरेको हो । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ र राजनीतिक दलसम्बन्धी नियमावदी २०७४ विपरीत नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गर्नुपर्ने पनि बताएको छ । त्यस्तै केन्द्रीय समितिको निर्णयसहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने नयाँ दलको नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदन दिनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जानकारी दिने पनि आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएपछि नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ब्युँतिएका हुन् ।