काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन कायमै राखेको जनाएको छ । शनिबार बसेको स्थायी समिती बैठकले आफ्नो पार्टीबाट ओली सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेपनी सरकारको समर्थन फिर्ता नलिएको सो पार्टीले प्रस्टीकरण दिएको हो । माओवादी केन्द्रले ओली पक्षले शुक्रबार विस्तार गरेको केन्द्रीय कमिटीमा रहेका माओवादी तर्फका नेताहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय पनि गरेको छ । ओली नेतृत्वको सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने र एमाले केन्द्रीय कमिटीमा समाहित भएका नेताहरूलाई स्थिति स्पष्ट पार्न निर्देशन दिने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन भने फिर्ता नलिएको मुख्य सचेतक देव गुरुङले बताए । 'अहिले नै समर्थन फिर्ता लिइसकेका छैनौं,' उनले भने 'सरकारलाई दिएको समर्थन कायमै छ ।' । ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, लेखराज भट्ट उद्योग तथा आपूर्तिमन्त्री, प्रभु साह सहरी विकासमन्त्री, मणि थापा खानेपानीमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री छन् । यीमध्ये गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेका बेला एमाले नेता भीम रावल पनि पेरिसडाँडा पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न उनी त्यहाँ गएका थिए । ' हाम्रो स्थायी कमिटी चलिरहेका बेला उहाँ अध्यक्ष प्रचण्डलाई भेट्न आउनु भएको हो । अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग छलफल गर्नुभयो,' एक स्थायी समिती सदस्यले भने । एमालेको शुक्रबार बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको थियो । सोही बैठकले माओवादी छोडेर ओली पक्षमा लागेका नेताहरूलाई जिम्मेवारी दिएको थियो ।