काठमाडौं । एमाले नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि पहल गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । मंगलबार एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न ओलीलाई सुझाव दिए । ओलीले पार्टीमा देखिएको समस्या समाधानका लागि प्रयत्न गर्न र अन्तर्विरोध समाधान गराउन भूमिका खेल्नुपर्ने गौतमको भनाइ छ । उनले भने, ‘अब तपाईंले आह्वान गर्नुस् कि हामी फेरि पनि वामपन्थी सरकार दिन चाहन्छौँ ।' नेता गौतमले ओलीलाई तत्काल प्रचण्डसँग वार्ता गर्न आग्रह गरे । 'तपाईंले प्रचण्डलाई बोलाएर तुरुन्तै अनुरोध गर्नुस् । हामी नयाँ शिराबाट अगाडि बढौँ । आज अगाडि गरिएका हाम्रा उचित, अनुचित व्यवहारहरू, राम्रा व्यवहारहरू कायम राखे पनि हुन्छ । शिक्षा लिए पनि हुन्छ । बटमलाइन एउटा निश्चित गरौँ त्योभन्दा अगाडिका विषयलाई आज हामी नउठाऔँ भनेर त्यहाँ कुरा गर्नुस्,' गौतमले भने । एमालेभित्रै अहिले समस्या देखियो । मुख्य व्यक्तिहरूलाई बोलाएर तपाईंले अनुरोध गर्नुस् । अत्यन्त सम्मानपूर्ण व्यवहार गर्नुस् । र, हामी फेरि एकताबद्ध भएर जान्छौँ । हामीले गर्नुपर्ने काम धेरै छन् र त्यो राष्ट्रिय जिम्मेवारी नेकपा (एमाले)को हो । त्यो एमालेको जिम्मेवारी हामीले एकताबद्ध गरेर मात्रै पूरा गर्न सक्छौँ । त्यस भएर तपाईंले यो आह्वान गर्नुस् । सुुरु गर्नुस् भनेर मैले अनुरोध गरेँ ।’ गौतमले माधव नेपाल समूहले छुट्टै गतिविधि सञ्चालन गर्न थालेको भन्दै त्यसलाई रोक्न ओलीले गत २८ फागुनको केन्द्रीय कमिटीको बैठकको नाममा गरिएको विधानविपरीत निर्णय फिर्ता गर्नुपर्ने बताए । नेपालका सबै कम्युनिस्ट पार्टीहरूलाई राजनीतिक संयुक्त मोर्चामा ल्याउने गरी आफू अगाडि बढेको गौतमको भनाइ छ ।