Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पच्चीस वर्षपछि गजुरेलको घरमा रात बस्न पुगे प्रचण्ड, यस्ता छन् कार्यक्रम

पच्चीस वर्षपछि गजुरेलको घरमा रात बस्न पुगे प्रचण्ड, यस्ता छन् कार्यक्रम

दैनिकी न्यूज

४, चैत्र २०७७
पच्चीस वर्षपछि गजुरेलको घरमा रात बस्न पुगे प्रचण्ड, यस्ता छन् कार्यक्रम
images

सिन्धुली । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिन्धुली पुगेका छन् । उनी २५ वर्षपछि  स्थायी समिति सदस्य एवं सिन्धुली क्षेत्र नं. २ का संघीय सांसद हरिबोल गजुरेलको घरमा बास बस्ने गरी बुधबार साँझ पुगेका हुन् ।

प्रचण्डको साथमा छोरी गंगा र पत्नी सीता पनि छन् । सिन्धुलीमा प्रचण्डको औपचारिक कार्यक्रम नभएपनि कार्यकर्ता भेटघाट भने गर्ने नेता गजुरेलले बताए । आफू एकान्तमा आनन्द लिन आएको उल्लेख गर्दै प्रचण्डले कुराकानी बिहीबारमात्रै गर्ने बताएका छन् । उनी २०५२ सालमा सशस्त्र द्वन्द्वको तयारी गर्ने सिलसिलामा सिन्धुली आएर गजुरेलकै घरमा बसेका थिए । ‘धेरै समयपछि सिन्धुलीको यो घरमा आएको छु, अकस्मात् हिँडेको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘कांग्रेस बैठकमै छ, माधव (नेपाल) जीहरू आफ्नै भेलामा हुनुहुन्छ, जसपाका नेताहरू पनि बैठक गर्दै छन्, त्यही भएर बास बस्ने गरी आएको हुँ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुग्नासाथ सुरक्षाकर्मी र कार्यकर्ता कमलामाई नगरपालिका–४ को दोभानटारस्थित गजुरेल निवासमा ओइरिएका थिए । तनाव कम गर्न र कुनै नयाँ निर्णय गर्नुपरे प्रचण्ड सिन्धुली, सिन्धुपाल्चोक र नुवाकोट पुग्ने गरेका छन् ।

यसअघि पनि उनी बिरामी पत्नी सीताको मुड फ्रेस गर्न भन्दै सुनकोसी गाउँपालिकाको मूलकोटबाट सुनकोसीमा र्‍याफ्टिङ गरेका थिए । सिन्धुलीगढीको कार्यक्रममा पनि उनी पत्नीसहित पुगेका थिए । यसअघि फागुन १ मा प्रतिनिधिसभा विघटनको विरोध र ‘जनयुद्ध दिवस’ मनाउन उनि मरिण गाउँपालिकाको कपिलाकोट आएका थिए ।

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - २२:४६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology