ललितपुर । शुक्रबार ललितपुरको कुम्भेश्वर, बंगलामुखी, शंखमुल क्षेत्रमा सञ्चालित माछा मासु पसलको बजार अनुगमन गरिएको छ ।
जिल्ला बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतसहितको टोलीले शुक्रबार माछा मासु पसलको अनुगमन गरेको हो । स्थानीयको जनगुनासो प्रशासन कार्यालयमा आएसँगै बजार अनुगमन गरिएको सहायक प्रजिअ बस्नेतले बताए ।
माछा मासु पसलमा गरिएको अनुगमनका क्रममा कतिपय पसल दर्ता नभई सञ्चालन भएकाले व्यवसाय तत्काललाई बन्द गरि व्यवसाय दर्ता गरि सञ्चालन गर्न निर्देशन दिएको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका उद्योग अधिकृत भूमिका ओझाले बताइन । उनले भनिन ‘आधारभुत मापदण्ड पालना गरि व्यवसाय सञ्चालन गर्न एक पटकलाई सचेत गराइएका छौ ।’ अनुगमनको क्रममा अनुगमन समितिलाई असहयोग गर्ने मस्याङ्दी चिकेन सप्लायर्स र चिकेन डेलिभरी एण्ड कोल्ड स्टोरलाई ५÷५ हजार रुपैयाँका दरले उपभोक्ता संरक्षण ऐन बमोजिम जरिवाना गरिएको अधिकृत ओझाले जानकारी दिइन ।
बजार अनुगमनमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, घरेलुु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत भुमिका ओझा, ललितपुर महानगरपालिका श्रीभद्र ओझा, उपभोक्ता मञ्चका ध्रुवलाल तण्डुकार, उद्योग वाणिज्य संघका गीता न्यौपाने, प्रहरी परिसरका प्रहरी निरीक्षक मधुसुदन विक, पशु शाखा ललितपुर महानगरका शंकर सिंहसहितको टोलीले बजार अनुगमन गरेको थियो ।
स्वास्थ्यको मापदण्ड विपरीत माछा मासु बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा हानी पुगेको भन्दै उपभोक्त अधिकारकर्मीहरुले विरोध जनाउँदै आएका छन् ।

