मनाङ । मनाङमा शनिबार ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । नासों गाउँपालिका ४, खोत्रोमा शनिबार दिउँसो ट्रक दुर्घटना भएको हो । मृतकमध्य घटनास्थलमै ३ जनाको र उपचारका लागि लमजुङ ल्याउने क्रममा थप २ जनाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नं. ट्रक शनिबार अपरान्हतिर दुर्घटना भएको हो । मनाङका डीएसपी सुवास खड्काका अनुसार दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र अन्दाजी ३१ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मृतक लियोन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन् । लमजुङका डीएसपी गंगाबहादुर थापाले मनाङ दुर्घटनामा गम्भीर घाइतेमध्ये २ जनाको उपचारका लागि जिल्ला अस्पताल बेंसीसहरतर्फ ल्याउँदै गर्दा मृत्यु भएको छ । घाइते ५ जनामध्ये ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकलाई उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । लमजुङ जिल्ला अस्पतालमा ल्याउनेवित्तिकै नेपाल र विश्वकर्मालाई चिकित्सकले राति साढे ८ बजेतिर मृत घोषणा गरेका डीएसपी थापाले बताए । गम्भीर घाइते ट्रकका चालक तनहुँको भानु नगरपालिका ३ का २४ वर्षीय सुमन तामाङ, नासों गाउँपालिका ४ का अन्दाजी ४ वर्षीय थियोन गुरुङ र अन्दाजी ६ वर्षीय नियोल गुरुङको जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको छ । मनाङको नासों गाउँपालिका ४, खोत्रोमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा नाबालकसहित एकै परिवारका ३ जनाको मृत्यु भएको छ । लमजुङ बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नं. ट्रक उकालो चढ्ने क्रममा अनियन्त्रित भइ पछाडि ब्याक भएर ४५ मिटर तल मर्स्याङ्दी नदीमा खसेको छ । दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । मनाङका डीएसपी सुवास खड्काका अनुसार दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी ७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङ छन् । मृतक लिउन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन्। मृतक ३ जनाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मनाङमा पठाइएको प्रहरीले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।