चितवन । चितवनमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वार्ड नम्बर २२ मा रहेको भित्री सडकमा बससँग स्कुटर ठोक्किँदा बाबुछोरीसहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुने तीनैजना स्कुटरमा चढेकाहरु हुन् । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पटिहानी पकौडी बजारमा सवा ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका भरतपुर–६ गीतानगर बस्ने अन्दाजी ४५ वर्षका मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी बिनिसा र मोहनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको उपचारका क्रममा निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य थापाले जानकारी दिए । उनीहरु तीनैजना मोहनले चलाएको ना ४० प ७०८२ नम्बरको स्कुटरमा सवार थिए । स्कुटरविपरीत दिशाबाट जगतपुरदेखि भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बससँग ठोक्किएको डिएसपी थापाले बताए ।