भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकार लकडाउनको पक्षमा नरहेको बताएका छन् । शनिबार मध्यपुर थिमि नगरपालिकाको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले स्वास्थ्य प्रति सजग रहँदै विद्यालय संचालन गर्ने, स्वास्थ्य मापदण्ड पालनालाई कडाई गर्ने तर लकडाउन नगर्ने बताएका हुन् । ‘विद्यालय बन्द गरेर होइन, स्वास्थ्य सुरक्षा अपनाएर कोरोनाको सामना गरिन्छ,’ उनले भने । पछिल्ला दिनमा भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकोले स्वास्थ्य सुरक्षामा सम्झौता नगर्न मन्त्री श्रेष्ठको अनुरोध छ । सरकारले कोरोना संक्रमणको दर केही वृद्धि भएपछि उच्च सतर्कता अपनाउँदै भीडभाड नगर्न आग्रह गरे पनि मध्यपुर थिमि नगरपालिकाले २५ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ ।