काठमाडौं । धितोपत्र दोस्रो बजारको कुल बजार पूँजीकरणमा वाणिज्य बैंकहरूको अंश ३८ दशमलव ३९ प्रतिशत रहेको छ । चैत १३ गतेसम्म सूचीकृत २६ वाणिज्य बैंकहरूको कुल शेयरको मूल्य उक्त अनुपातमा कायम भएको हो ।
चैत १३ गतेसम्म धितोपत्र दोस्रो बजारको आकार अर्थात् कुल बजार पूँजीकरण रू। ३५ खर्ब २० अर्ब २२ करोड ७० लाख ५४ हजार रहेको छ । उक्त दिनसम्म २६ वाणिज्य बैंकहरूको सूचीकृत शेयरको कुल मूल्य रू. १३ खर्ब ५१ अर्ब ३७ करोड ९ लाख ४२ हजार रहेको छ । यी बैंकहरूको धितोपत्र दोस्रो बजारमा २ अर्ब ८८ करोड ७ लाख ९१ हजार ८६२ कित्ता शेयर सूचीकृत रहेको छ ।
बजारमा कम्पनीहरूको शेयरमूल्य माग र आपूर्तिका कारण घटबढ हुने गर्छ । हाल वाणिज्य बैंकहरूमध्ये नबिल बैंकको शेयरमूल्य सबैभन्दा बढी छ । चैत १३ गते यस बैंकको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २२७ कायम भएको छ । नबिल बैंकको १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकृत रहेको छ । बैंकको कुल शेयरको मूल्य अर्थात् कुल बजार पूँजीकरण रू. १ खर्ब ६५ अर्ब ४० करोड १५ लाख ४३ हजार रहेको छ ।
नबिल बैंकले शेयरधनीहरूका लागि आकर्षक लाभांश दिँदै आएकाले पनि यस बैंकको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी रहेको हो । यस वर्ष वाणिज्य बैंकहरूमध्य सबैभन्दा बढी ३५ दशमलव २६ प्रतिशत लाभांश दिएको छ । यस बैंकले ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत १ दशमलव ७६ प्रतिशत नगद लाभांश दिएको हो । विगतका वर्षहरूमा पनि नबिल बैंकले अन्य वाणिज्य बैंकहरूको तुलनामा आकर्षक लाभांश वितरण गर्दै आएको छ ।
यस बैंकले २ आर्थिक वर्ष २०६९–७० र २०७०–७१ मा ६५ प्रतिशतका दरले लाभांश वितरण गरेको थियो ।
नबिल पछि कुल बजार पूँजीकरण एनआईसी एशिया बैंकको बढी रहेको छ । एनआईसी एशिया बैंकको दोस्रो बजारमा १२ करोड ५६ लाख ४० हजार ५६ कित्ता शेयर सूचीकृत रहेको छ । पछिल्लो कारोबार दिन चैत १३ गते एनआईसी एशिया बैंकको शेयरमूल्य प्रतिकित्ता रू। ८७२ कायम भएको छ । यो दिन बैंकको कुल बजार पूँजीकरण रकम रू. १ खर्ब ८३ करोड ८१ लाख २८ हजार कायम भएको छ ।
सूचीकृत शेयर संख्या भने वाणिज्य बैंकहरूमध्य ग्लोबल आईएमई बैंकको बढी रहेको छ । ग्लोबल आइएमई बैंकको २१ करोड ६३ लाख २५ हजार ३१ कित्ता शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत रहेको छ । बजार मूल्य भने बैंकको प्रतिकित्ता रू. ४२८ रहेको छ । सर्वाधिक कित्ता शेयर सूचीकृत भए पनि ग्लोबल आईएमई बैंकको शेयरमूल्य कम भएका कारण कुल बजार पूँजीकरण रू। ९२ अर्ब ५८ करोड ७१ लाख १३ हजार मात्र रहेको छ ।
दोस्रो बजारमा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर सूचीकृत रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८ करोड ५७ लाख २२ हजार ३०४ कित्ता शेयर सूचीकृत रहेको छ । प्रतिकित्ता शेयरमूल्य रू। ५९६ रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको कुल बजार पूँजीकरण रू. ५१ अर्ब ९ करोड ४ लाख ९३ हजार रहेको छ । आर्थिक अभियानबाट