Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सभामुखप्रति प्रधानमन्त्री ओलीको आक्रोश

सभामुखप्रति प्रधानमन्त्री ओलीको आक्रोश

दैनिकी न्यूज

२, बैशाख २०७८
सभामुखप्रति प्रधानमन्त्री ओलीको आक्रोश
images

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी प्रतिवेदनलाई सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ वर्षको पहिलो दिन बुधबार देशवासीका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई लक्षित गर्दै संविधान नै नमान्ने र जिद्दी प्रवृत्ति झेल्नुपरेको गुनासो गरे ।

सरकारले टेबुल गरिसकेको प्रतिवेदन सभामुख सापकोटाले रोकेको आरोप उनको थियो । सरकारले संसद्मा निर्णयार्थ पेस गर्न माग गर्दा पनि प्रतिवेदन अहिलेसम्म पेस नभएको भन्दै ओलीले असुन्तष्टि व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले एमसिसी विगतको सरकारको कार्यक्रमको निरन्तरता भएको बताए । ‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसिसी सम्झौता गरिएको थियो । त्यो संसद्मा टेबुल गरेका छौं । निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं ।

सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक अधिकार अरुसँग हुँदैन, प्रस्तुत गर्नैपर्ने हुन्छ तर यहाँ प्रस्तुत हुन सकेको छैन’, उनले भने । संसद् अधिवेशन सुरु भएको पहिलो दिन प्रस्तुत गर्नुपर्ने अध्यादेशसमेत संसद्मा प्रस्तुत गर्न नदिएर अप्रिय स्थिति उत्पन्न गरिएको प्रधानमन्त्रीले बताए। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता कायम गरी सम्पूर्ण सामथ्र्य देश विकासमा लगाउन जरुरी भएको बताए।

सरकार लकडाउन ९बन्दाबन्दी० गर्ने पक्षमा नरहेको उनले स्पष्ट पारे। कतिपय राष्ट्र कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र नेपाल सरकार पनि जनताको सुरक्षाका लागि गम्भीर रहेको उनले बताए । विसं २०७७ मा विश्वले पहिला कहिले पनि नदेखेको कोभिड १९ को सामना गर्नुपरेको उल्लेख गर्दै ओलीले त्यसै कारण नेपालको समग्र सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षालगायतका अनेक पक्ष वर्षभर नै आक्रान्त रहनुपरेको बताए । यसअघि नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा भने उनले स्थिति भयावह भए लकडाउन गर्नुपर्ने संकेत गरेका थिए ।

‘कोभिड कात्तिकदेखि नियन्त्रणमा आएको थियो, चैतदेखि फेरि फैलन सुरु गरेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘२०७७ सालको त्यो पीडा त्यसैरूपमा दोहोरिन नपाओस् भनेर सरकारले काम गरिरहेको छ ।’ उनले कोभिड १९ को महामारीबाट सुरक्षित रहन सरकार र स्वास्थ्य मन्त्रालयका मापदण्ड पालना गर्न अनुरोधसमेत गरे । कोभिडको महामारीबीचमा पनि विसं २०७७ निरर्थक वर्ष नरहेको बरु उपलब्धिको वर्ष रहेको दाबी उनको थियो ।

ओलीले मेलम्चीको पानी काठमाडौंमा झार्ने सफलता, पुनःनिर्माणजस्ता धेरै महत्वपूर्ण काम भएको र अनलाइनमार्फत शिक्षा अगाडि बढाउने र सामान्य रुपमा जीवन अगाडि बढाउनेतर्फ ध्यान दिएको उल्लेख गरे । ‘नयाँ उत्साह, नयाँ आत्मविश्वासका साथ नयाँ वर्षमा प्रवेश गरिरहेका छौं, हामीले थालेका अपूरा कामलाई पूरा गर्ने र देशलाई विकासको चरणमा छौं’, प्रधानमन्त्री ओलीले भने । उनले हुम्लाको सिमीकोटमा सडक पु¥याउने, विश्वविद्यालय, अस्पताल, शिक्षालय निर्माण अगाडि बढाउने उल्लेख गर्दै नेपालमा लगानीका लागि शान्तिपूर्ण वातावरण बनेको र श्रमिक, श्रमदाता र सरकारबीच उपयुक्त कानुन निर्माण गर्ने काम तीव्रताका साथ अघि बढेको बताए।

यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :बैशाख २, २०७८ बिहिवार - ०७:०६:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology