नेपालगन्ज । बाँकेमा शुक्रबार साँझ भएको भयानक सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोला सैनिक क्याम्प नजिकै बस र टिपर आपसमा ठोक्किँदा बसमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा सवार सबै यात्रु घाइते भएका छन् । ३९ जना यात्रुसहित सुर्खेतबाट काठमाडौंका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस पूर्वबाट पश्चिम आउँदै गरेको टिपरसँग शुक्रबार बेलुका ७ बजेतिर ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइएको बाँकेका डिएसपी सुवास खड्काले बताए ।