काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षार्थ अगाडि बढ्न खोज्दा घेराबन्दी भएको बताएका छन् । उनले सदनको नेतृत्वमा रहेकाले आफुमाथी अनेक खालका टिप्पणी भइरहेपनि जनताको अधिकतम हितमा लाग्ने प्रस्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्च र सर्वदलीय बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई सभामुख सापकोटाले रोकेर असंवैधानिक काम गरेको भन्ने आरोप दोहोर्याइरहेको अवस्थामा सभाखुको यस्तो अभिव्यक्ति आएको हो । नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रममा आइतबार सभामुख सापकोटाले भने, 'हामीसामू निक्कै ठूलो चुनौती खडा भएको छ । संघीय संसद्लाई चलयामान बनाउने, संविधानको रक्षार्थ प्रतिनिधिसभा दृढतापूर्वक अगाडि बढ्न सुरु गर्यो, त्यहींबाट घेराबन्दी हुन थाल्यो । निकै ठूलो घेराबन्दी भइरहेको छ । अनेकखालका टिप्पणी भइरहेका छन् ।' प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउन लागिरहेको अवस्थामा धेरै मान्छेलाई संसद्बारे भ्रममा पारिएको सभामुख सापकोटाको भनाइ थियो । 'धेरै मान्छेलाई केही समय भ्रममा पार्न सकिन्छ । केही मान्छेलाई सधैंभरी भ्रममा पार्न सकिन्छ, सबै मान्छेलाई सधैंभरी भ्रममा पार्न सकिँदैन,' उनले भने, 'यो व्यक्ति-व्यक्ति बीचको, अधिकारीबीचको टक्कर हो कि भनेर टिप्पणी हुन्छ तर यो दृष्टिकोणको बीचमा टक्कर हो ।' सभामुख सापकोटाले संविधान र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्ने मामिलामा आफू सधैं दृढ भएर लाग्ने बताए । 'नेपालको संविधानलाई रक्षा र विकास गर्ने कुरामा म दृढ छु । भन्नेले के भन्छन् मैले वास्ता गरेको छैन, म लुरुलुरु अगाडि बढेको छु । मैले जे गरेको छु देशलाई सम्झेर गरेको छु । देश र जनताको अधिकतम हितमा काम गरेको छु ।' आफूले जानाजान देश र जनताको हितविपरीत काम नगरेको र आगामी दिनमा पनि त्यस्तो नगर्ने उनको भनाइ थियो । 'मैले स्वतन्त्रतापूर्वक काम गर्नुपर्छ । कसैको दबाब, प्रभावबिना काम गर्नुपर्छ । मैले कसैको दबाबमा काम गरेको छैन । कसैको प्रभावमा काम गरेको छैन,' सभामुख सापकोटाले थपे, 'जनताका भावना बुझेर अगाडि बढ्नुपर्ने हुन्छ । निर्णय स्वच्छ हुनुपर्छ । जनताले हेर्दा स्वच्छ देखिनुपर्छ । कुनै कुनै निर्णयको बारेमा मात्रै स्पष्टीकरण दिनुपर्ने हुन्छ ।'