काभ्रे । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशमा आफू पक्षीय सांसदहरूले गरेको फ्लोर क्रसबारे पहिलोपटक प्रतिक्रिया दिएका छन् । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु भन्ने धम्की दिएकाले ‘उसैलाई’ सिध्याइदिएको तर्क गरेका छन् । आफू पक्षीय नेता कार्यकर्तालाई बनेपामा सम्बोधन गर्दै उनले ओलीको शैलीको कारण यस्तो परिणाम आएको दाबी गरे । ‘कर्णालीमा म हुँ प्रदेश प्रमुख, मुख्यमन्त्री म बन्दैछु, मैले भनेको आदेश नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि, ‘मर्ता क्या नै कर्ता’ भनेजस्तो उसैलाई सिध्याइदिए, अहिले उनको बिजोग भएको छ,’ नेता नेपालले भने, ‘म अल्पमतमा पर्ने गल्ती गर्दिनँ, म बहुमत हुँ, मेरो आदेश पालना गर्नुपर्छ भन्ने सोचका कारण हो, उनी (ओली)लाई संगठन चाहिएको छैन, विधि चाहिएको छैन, पार्टी र आन्दोलन चाहिएको छैन ।’ कर्णाली प्रदेशका मुख्यमन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा ‘फ्लोर क्रस’ गरी एमालेका ४ सांसदले मतदान गरेका थिए । अन्य प्रदेशमा के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा भने नेता नेपालले ‘आफूले त्यसबारेमा बुझ्न नपाएको’ प्रतिक्रिया दिए । कार्यक्रममा सहभागी एमालेका प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले भने ओलीको यही शैली रहे वाग्मतीका साथै अन्य प्रदेशमा पनि ‘फ्लोर क्रस’ हुने बताएका थिए ।