काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच बिहीबार भएको वार्ता झन तनावपूर्ण बनेको छ । बुधबार साझ २ घण्टा काठमाडौंको मेरियटमा एक्लाएक्लै वार्ता गरेका ओली र नेपाल बिहीबार दिउँसो २ बजे सोही होटेल पुगेका थिए । सुरुमा होटेलबाट काठमाडौंको दृश्यावलोकन गरेका दुई नेताबीच विषय केन्द्रित छलफल गर्दा भने कुरै नमिलेको नेपालले बताए । 'वार्तामा कुनै प्रगति भएन, ओलीजी पार्टीलाई एकताबद्ध बनाउन चाहनुहुन्न,' नेपालले भने । उनका अनुसार हिजोको छलफलमा केही आश लागेको थियो आज त्यो संभावना सकिएको महसुस गरे । मिल्ने सम्भावना पनि देखिएको छैन । अब छलफल कहिले हुन्छ त्यो पनि थाहा छैन ।' तर ओली-नेपाल वार्तापछि नेता नेपालसंग छलफल गरेका प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले वार्ता सकारात्मक भएको दाबी गरे । ओलीसंग कुरा नमिलेपछि नेता नेपाल जनकपुर गएका छन् ।