काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकदुई दिनमै राजनीतिक गतिरोध हट्ने बताएका छन् । उनले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने र ओलीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढ्ने बताए । मंगलबार बसेको स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे बिफ्रिङ गर्दै प्रचण्डले जनता समाजवादी पाटी (जसपा)को निर्णय कुरेको जानकारी गराएको एक स्थायी समिती सदस्यले जानकारी दिए । ‘हामी अहिले जसपाको निर्णय कुरिरहेका छौं । जसपाले आज (मंगलबार) बैठक बसेर ठोस निर्णय गर्ने भनेको थियो तर त्यहाँ विवाद भएको सुनियो । जसपाले एक/दुई दिनमा निर्णय लिन्छ होला, त्यसका आधारमा हामी पनि अर्को कदम चाल्छौं’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती भने, ‘अविश्वासको प्रस्ताव दर्ताको अवस्था भएनछ भने पनि सरकारलाई दिएको समर्थन फिर्ताबारे औपचारिक पत्र लेख्छौं । अब धेरै कुर्दैनौं, एक/दुई दिनमा निर्णय हुन्छ ।’ बुधबारसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने गृहकार्यमा कांग्रेस र माओवादी थिए । पछिल्लो राजनीतिक अवस्थाबारे बिफ्रिङका लागि प्रचण्डले मंगलबार स्थायी कमिटी बैठक बोलाएका थिए । बैठकमा उनले केन्द्रदेखि प्रदेशसम्मको सत्ता समीकरणमा भइरहेका कोसिसबारे जानकारी गराएका थिए । सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नलिएको भन्दै माओवादी केन्द्रको आलोचना भइरहेको छ । तर, माओवादी केन्द्रले अविश्वास प्रस्ताव दर्ता र समर्थन फिर्ता प्रक्रिया एकैसाथ अगाडि बढाउने रणनीति लिएको छ । अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रधानमन्त्री चयन प्रक्रिया सहज र छिटो हुने भएकाले माओवादीले सो प्रक्रिया अघि बढाउन काङ्ग्रेसलाई घच्घच्याइरहेको छ । यसअघि माओवादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे अन्तिम निर्णयको अधिकार प्रचण्डलाई नै दिएको थियो ।