काठमाडौं । एकता भएको एक वर्षमै जनता समाजवादी पार्टी (जसपा) फुट नजिक पुगेको छ । लुम्बिनी प्रदेशमा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबिच टकराव बढेपछि जसपा फुटको अन्तिम चरणमा पुगेको नेताहरू बताउँछन् । अध्यक्ष यादवले केहीदिन अघि पार्टी निर्णय विरुद्ध सरकारमा सहभागी भएको भन्दै लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । तर सो निर्णय पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट नभएको भन्दै अध्यक्ष महन्थ ठाकुरले बिहीबार अर्को पत्र पठाए। पार्टीभित्र अलगअलग निर्णय हुन थालेपछि जसपा विभाजन उन्मुख भएको हो । अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशका सभामुखलाई पठाएको पत्रमा केन्द्रीय स्तरबाट लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई कुनै कारवाही नभएको उल्लेख छ। पत्रमा लुम्बिनीमा पूर्वराजपा र पूर्वसमाजवादी पार्टीको प्रदेश कमिटी समायोजन नभएको बताइएको छ। तर प्रदेश सभामा दुवै संसदीय दलको समायोजन भएको ठाकुरले बताएका छन्। पार्टी निर्णय विपरित मन्त्री बनेका चार जनालाई आज प्रदेश सभा सदस्यबाट मुक्त गरिएको थियो। सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे प्रदेश सभा सदस्यबाट मुक्त भएका हुन्। जसपा लुम्बिनी प्रदेश संसदीय दलको पत्र अनुसार उनीहरुलाई जसपा केन्द्रीय कार्यकारिणी समितिले प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट हटाएको जानकारी आएकोले पदमुक्त गरिएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि जसपाका ४ सांसद मन्त्री बनेका थिए। २०७७ बैशाख १० गते तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएको थियो । पछिल्लो समय जसपाका महन्थ- राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसंग मिलेर जानुपर्ने अडानमा छन् । उता अध्यक्ष उपेन्द्र र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई भने नयाँ सत्ता समीकरण बनाएर जानुपर्ने पक्षमा छन् ।