काठमाडौं । सरकारले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गर्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको हो । काठमाडौं सहित ललितपुर र भक्तपुर गरी ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आइतबार थप कडाइको निर्णय गर्ने उनले बताए । शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्नेपर्ने निष्कर्ष निकालिएको उनको भनाइ छ । सरकारी कर्मचारी संख्या कटौती गर्ने बित्तिकै सडकमा गाडीको चाप कम हुने उनीहरुको विश्लेषण छ ।