काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिन प्रमुख प्रतिपक्ष कांग्रेससँग अनुरोध गरेका छन् । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीसहितका नेताहरूले विश्वासको मत मागे। बैठकपछि कांग्रेसका नेता प्रकाशशरण महतले भने, 'प्रधानमन्त्रीले विश्वासको मतका लागि सहयोग माग्नुभयो । प्रतिपक्ष भएकाले हामीले सहयोग गर्न नसक्ने कुरा स्पष्ट पार्यौं ।' ओलीले लोकतन्त्रका लागि सँगै लडेका दल र नेता भएकाले सहयोग गर्न देउवासंग आग्रह गरेका थिए । महतले बैठकमा भएका कुराबारे संचारकार्मीसंग भने, ' हामी लोकतन्त्रका लागि पनि संगै लडेका हौं अबपनि मिलेर जाउँ ।' देउवाले जवाफ दिँदै भने 'लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने काम तपाईंले गर्नुभएकोले तत्काल मिल्ने संभावना छैन ।' डेढघन्टा देउवासंग छ्लफल गरेका प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्य र मान्यताका कुरा गरे पनि व्यवहारमा नदेखिएको भन्दै असन्तुष्टि जनाएको महतले जानकारी दिए । ओलीले तत्काल विश्वासको पक्षमा मत र त्यसलगत्तै सरकारमा सहकार्यको पनि प्रस्ताव राखेका थिए । तर त्यसलाई पनि अस्वीकार गरेको उनको भनाइ थियो । प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङसहित देउवा निवास पुगेका थिए । प्रधानमन्त्री ओलीसँगको छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीहरू शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सहमहामन्त्री प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौला लगायतको सहभागिता थियो । प्रधानमन्त्रीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । त्यसका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ ।