Logo

आइतवार, श्रावण २४ गते २०८३

images

के गर्‍यो काङ्ग्रेस दलको बैठकले निर्णय ?

के गर्‍यो काङ्ग्रेस दलको बैठकले निर्णय ?

दैनिकी न्यूज

२५, बैशाख २०७८
के गर्‍यो काङ्ग्रेस दलको बैठकले निर्णय ?
images

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले ओलीले प्रधानमन्त्रीका लागि मागेको विश्वासको मत नदिने र अरु दललाई पनि विश्वासको प्रस्तावको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको हो । कांग्रेस सचेतक पुष्पा भुसालका अनुसार सरकार सम्पूर्ण रूपमा असफल भइसकेकाले विश्वासको मत नदिने संसदीय दलले निर्णय गरेको हो । 'ओली सरकार संवैधानिक, राजनीतिक, नैतिक सम्पूर्ण हिसाबले असफल भएको हुनाले सरकारलाई विश्वासको मत नदिने निर्णय भयो,' उनले भनिन्, 'संसद्मा रहेका अरु दलहरूलाई पनि विश्वासको मतको विपक्षमा खडा हुनका लागि कांग्रेस संसदीय दलले आग्रह गरेको छ ।' ओली सरकारलाई विश्वासको प्रस्तावमा असफल पारेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय पनि कांग्रेस संसदीय दलले गरेको भुसालले बताइन् । 'वैकल्पिक सरकार कांग्रेसको नेतृत्वमा गठन गर्न पहल गर्ने निर्णय पनि भएको छ,' उनले भनिन् । त्यस्तै, कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकार गम्भीर नभएको, खोप आयतातमा कमिसन र भ्रष्टाचारमा संलग्न भएको पनि संसदीय दलले निष्कर्ष निकालेको छ । सरकारलाई जनताको स्वास्थ्यप्रति गम्भीर बन्न र अक्सिजन, भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण व्यवस्था गर्न ध्यानाकर्षण गराउने कांग्रेसले निर्णय गरेको छ । बैठकमा संवैधानिक परिषद् सम्बन्धि अध्यादेश र परिषद्को बैठकबारे छलफल भएको भुसालले बताइन् । उनले भनिन्, 'संवैधानिक परिषद्को अध्यादेश बारम्बार असंवैधानिक तवरले ल्याउने र त्यहिँअनुसार परिषद् चलाउन खोजेको देखिएको छ । यसबारे बैठकले प्रमुख प्रतिपक्ष दलको नेता बैठकमा नजाने र अरुलाई पनि उक्त परिषद्को बैठकमा सहभागी नहुन आग्रह गर्ने भन्ने निर्णय भयो ।' बैठकमा अविश्वासको प्रस्तावबारे पनि छलफल भएको तर अहिलेलाई विश्वासको मत लिने प्रधानमन्त्रीले तयारी गरेकाले त्यसलाई असफल पार्ने निर्णय भएको उनले जानकारी दिइन् । वैशाख २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत माग्नु पहिला कांग्रेसको संसदीय दल बैठक बसेको हो ।

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - १९:५५:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology