काठमाडौं । नेकपा (एमाले) का माधवकुमार नेपाल समूहका सांसदहरू संसद् सचिवालयमा भेला हुन लागेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् विश्वासको मत लिदै गर्दा माधव नेपाल समूहका नेताहरू आज सामूहिक राजीनामा दिने तयारीमा जुटेका हुन्।
आइतबार दिउँसो ३ बजेदेखि संघीय संसद् सचिवालय सिंहदरबारमा उनीहरु जम्मा हुन थालेका हुन् । सचिवालय परिसरमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, पवित्रा निरौला खरेल, निरादेवी जैरू, सरला यादव, विरोध खतिवडा लगायत छन् ।
माधव समूहले पार्टी एकताका लागि ओलीले एकलौटी गरेको निर्णय फिर्ता गरेर २०७५ जेठ २ गतेमा फर्कनुपर्ने बताउँदै आएका छन्। तर, ओली आफ्नो निर्णयबाट फर्कन चाहेका छैनन्।
यसअघि माधव समूहको स्थायी कमिटी बैठक बसेको थियो। बैठकले ओलीले निर्णय फिर्ता नगरे सामूहिक राजीनामा दिने निर्णय गरेको एक नेताले बताए।
यसैबीच नेता नेपाल समूहका सांसद राजीनामा बुझाउन सिंहदरबार पुग्दा अध्यक्ष अोलीले राजीनामा रोक्न अर्थमन्त्री विष्णु पौडेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सिंहदरबारमा पठाएका छन् ।
एमालेमा माधव पक्षका प्रत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । उनीहरूले आफ्नो राजीनामा पत्रमा तयार पारेका छन् ।
नेपालले प्रत्यक्षतिर २२ सांसदहरूले राजीनामा बुझाएपछि संसदको संख्या घट्ने र वैकल्पिक सरकार बनाउन सहज हुने आँकलन गरिएको छ।
नेपाल पक्षले फागुन २८ गते र त्यसपछि बालुवाटारमा बसेका बैठकहरुले गरेका निर्णय खारेज गर्नुपर्ने आफ्नो बटमलाइन रहेको स्पष्ट पारेका छन्। फागुन २८ मा अध्यक्ष ओलीले आफूनिकट नेताहरुलाई बालुवाटारमा बोलाएर पार्टी विधान संशोधन गर्दै माधव नेपाललगायतका नेताहरूको जिम्मेवारीबाट हटाउँदै निष्काशान गरेका थिए। ओलीले संसद्मा निर्वाचित नेपालसहित ३० जनालाई स्पस्टीकरण सोधेर कारबाहीको तयारीसमेत गरेका छन्।