काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेका छन् । पार्टीभित्र तीव्र अन्तर्विरोध चर्किएका बेला दुई अध्यक्षले आफ्नै पार्टीको सरकार गठन गर्ने अवसर आए वा राष्ट्रिय सहमतिको सरकार गठन हुने भए अघि बढ्ने नभए प्रतिपक्षमा नै रहने सहमति भएको जनाएका छन् ।
अध्यक्षद्वय ठाकुर र यादवबीच मंगलबार भएको ८ बुँदे समझदारी पत्रमा यसअघि सरकारमा नजाने निर्णय यथावत रहेको र आगामी दिनमा आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए वा राष्ट्रिय सरकार बन्ने अवस्था सिर्जना भए मात्रै अघि बढ्ने समझदारी भएको हो ।
‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन, जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ,’ ठाकुर र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ ।
त्यस्तै, पार्टीभित्र देखिएका समस्याको विधानअनुसार नै छलफल गरेर समाधान गर्ने समझदारी पनि दुवैबीच भएको छ । तत्कालीन राजपा र समाजवादी पार्टीबीच भएको एकताले तल्लो तहमा पूर्णता नपाइसकेको अवस्थामा आगामी दिनमा ती काम सम्पन्न गर्ने पनि उनीहरूबीच समझदारी भएको छ । 'समायोजन हुन नसकेका विभिन्न स्तरका पार्टी संगठन/ भ्रातृ संगठनलगायत संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई पार्टी विधान, समायोजन सम्बन्धी निर्देशिका र पार्टीले गरेको निर्णयहरूको आधारमा यथाशीघ्र सम्पन्न गर्दै एकताबद्ध, अनुशासित एवम् सुदृढ पार्टी संगठन निर्माण गर्नु पर्दछ,' दुवैको हस्ताक्षर रहेको विज्ञप्तिमा उल्लेख छ ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको प्रस्तावको विरुद्धमा मतदान दिएका र तटस्थ बसेका जसपाका दुई पक्षबीच पछिल्लो समय सार्वजनिक रूपमा नै विवाद देखिएको थियो । उक्त कुरा पार्टी निर्णयअनुसार नै भए पनि केही नेताहरूले त्यसलाई दुरुपयोग गरेको भन्दै ठाकुर र यादवले आगामी दिनमा मिलेर अघि बढ्ने समझदारी गरेका छन् । 'पार्टीभित्र कसैले व्यक्तिगत स्वार्थ सिद्धगर्नका लागि गुटबन्दी गर्ने, गुट उपगुट खडा गर्ने, पार्टी नेताहरूका विरुद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने कियाकलाप, विचार प्रकृतिहरूलाई अन्त्य गरी पार्टीलाई एकताबद्ध राख्नु पर्दछ,' दुवैले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।