मकवानपुर । राष्ट्रिय सभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको र पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै नेकपा एमालेको वागमती प्रदेश संसदीय बोर्डले १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।
हेटौंडास्थित मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवासमा बसेको बैठकले एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादलको साटो स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटालाई सहयोग गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।
एमालेका मुख्य सचेतक दीपक निरौलाका अनुसार स्पष्टीकरण सोधिनेमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मीना ज्ञवाली, लक्ष्मण लम्साल र पार्वती सिलवाल छन् ।
जेठ ६ गते भएको राष्ट्रियसभा निर्वाचनमा नेपाल पक्षीय जनप्रतिनिधिले स्वतन्त्र उम्मेदवारलाई मत दिएका थिए।
पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिन एमाले महासचिव ईश्वर पोखरेलले ह्वीप जारी गरेको भए पनि उनीहरूले मत दिएका थिएनन्।
बादललाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका थिए। राष्ट्रियसभाको निर्वाचनमा जनप्रतिनिधिहरूले गोप्य मतदान गर्छन्।