काठमाडौं । सरकारले केही अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । कोरोना संक्रमण बढ्न नदिन बन्द गरिएको केही उडान खुला गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको हो । अब सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान हुने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै अन्तर्राष्ट्रिय उडानतर्फ ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान खुला गरिदिएको छ । मन्त्रिपरिषद्को बिहीबारको निर्णयले वैशाख २३ देखि स्थगन गरिएको अन्तर्राष्ट्रिय उडान (भारतबाहेक तेस्रो मुलुकका लागि रोकिएको) खुलाउने निर्णय गरेको थियो । सामान्य अवस्थामा नेपालमा २७ वटा विदेशी र तीनवटा नेपाली गरी ३० वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्थे । प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम र कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमलाई नियमित उडान गर्न अनुमती दिइएको छ । पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार यो सुविधाले अब अन्तर्राष्ट्रिय उडानतर्फ स्वदेशी–विदेशी यात्रुले केही नेपाली ट्राभल एजेन्टले वायुसेवाकै कर्मचारीसँग मिलेर असुल्ने महँगो टिकट खरिद गर्नु पर्ने बाध्यता हट्नेछ । प्राधिकरणको नयाँ तालिका अनुसार, युरोप, अमेरिकाका यात्रुले अब हरेक बिहीबार टर्किस एयरलायन्सको उडानबाट ओहोरदोहार गर्न सक्ने छन् । त्यस्तै, दिल्ली–काठमाडौं बुधबार र शुक्रबार उडानलाई निरन्तरता दिइएको छ । जुन यसअघि निषेधाज्ञामा पनि जारी नै थियो । त्यस्तै, दोहा हुँदै मध्यपूर्वी मुलुक लगायत अन्य मुलुकहरुमा जान सोमबार बिहान कतारले र राति नेपाल वायुसेवा निगमले काठमाडौंबाट उडान गर्नेछन् । सोमबार राति नेपालबाट दोहा जाने निगमको विमान मंगलबार मात्रै काठमाडौं फर्किने छ । प्राधिकरणले हाललाई यी ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान जेठ १८ देखि असार १६ सम्म खुला गरिदिएको छ ।