काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यकारिणी बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टी सदस्यबाट निष्कासन गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । जसपाले निष्कासनबारे निर्वाचन आयोगलाई पनि जानकारी गराएको छ । आयोगमा दर्ता गरिएको पत्रमा जेठ १७ गते पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणीको बैठकले निष्कासनको निर्णय गरेको उल्लेख गरिएको छ । जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटकपटक स्षटीकरण सोध्दा नदिएकाले कारबाही गरिएको भन्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरुको नाम हटाउन पनि अनुरोध गरिएको छ । यसैबीच महन्थ ठाकुरले पनि अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेका छन् । मंगलबार अपरान्ह ठाकुरले यादवलाई कारबाही गरेको जनाएका हुन् ।