काठमाडौं । नयाँ मन्त्रीहरूको सपथग्रहण आजै बेलुकी ८ बजे हुने भएको छ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा ८ बजे सपथको तयारी गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका १० जना नयाँ मन्त्री नियुक्त गर्दैछन्। वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा दुई राज्यमन्त्रीसहित १० जना नेता सरकारमा जाने भएका हुन् । नेता शरतसिंह भण्डारी, अनिल झाले, विमल श्रीवास्तव, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मिया र उमाशंकर अरगरिया सरकारमा जाँदै छन् । यस्तै, रेनुका गुरुङ र चन्द्रकान्त चौधरी राज्यमन्त्री बन्दै छन् ।
उनीहरुसँग आफ्नै पार्टीबाट पनि प्रधानमन्त्री ओलीले केही मन्त्री हेरफेर गर्न लागेका छन्। उनले शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्री बनाउन लागेका छन् भने विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन्।
यता एमालेका चार जनाबाहेक सबैलाई ओलीले हटाएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र कानुनमन्त्री लीलानथ श्रेष्ठबाहेक अरु सबैलाई ओलीले जिम्मेवारीबाट हटाएका छन् ।
ओलीले वन मन्त्री प्रेम आले, भूमि व्यवस्था तथा सहकारीमन्त्री शिवमाया तुम्बाहाम्फे र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतोले सम्हालेका मन्त्रालय जसपालाई दिँदै उनीहरूलाई विदाइ गरेका छन् ।