Logo

सोमवार, श्रावण २५ गते २०८३

images

३ उपप्रधानमन्त्री सहित ओली क्याबिनेटमा थपिए १३ मन्त्री, को-को परे !

३ उपप्रधानमन्त्री सहित ओली क्याबिनेटमा थपिए १३ मन्त्री, को-को परे !

दैनिकी न्यूज

२१, जेठ २०७८
३ उपप्रधानमन्त्री सहित ओली क्याबिनेटमा थपिए १३ मन्त्री, को-को परे !
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । शुक्रबार बेलुका उनले  मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ र पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ तीन उपप्रधानमन्त्री ८ मन्त्री र २ राज्यमन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएकी थिइन् । राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ लिएका मन्त्रीहरूले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

उपप्रधानमन्त्रीमा अर्थमन्त्रीसमेत रहेका विष्णुप्रसाद पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतोले शपथ लिएका छन् ।महासेठलाई परराष्ट्र र महतोलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरूले पदभार ग्रहण गरिसकेका छन् ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा शेरबहादुर तामाङले शपथ लिएका छन् । उनी एमालेको तर्फबाट मन्त्री भएका हुन् । जनता समाजवादी पार्टीको तर्फबाट शरतसिंह भण्डारीले ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री, अनिलकुमार झाले खानेपानी मन्त्री, लक्षणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, एकवाल मियाँले युवा तथा खेलकुदमन्त्री, चन्दा चौधरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र उमाशंकर अरगरियाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको शपथ लिएसँगै पदभार ग्रहण गरेका हुन् ।

त्यस्तै, रेणुका गुरुङले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री र चन्द्रकान्त चौधरीले ऊर्जा तथा जलस्रोत राज्यमन्त्रीको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, वन तथा वातावरणमन्त्री प्रेम आले, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, कृषि तथा पशुपन्छीमन्त्री पद्मा अर्याललाई पदमुक्त गरेका छन् । राष्ट्रपति भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, गृह, रक्षा, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई तोकेकी छन् ।

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - २२:२२:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology