Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रचण्डले किन भने-ओलीले अझै षड्यन्त्र गर्छन् ?

प्रचण्डले किन भने-ओलीले अझै षड्यन्त्र गर्छन् ?

दैनिकी न्यूज

१४, आषाढ २०७८
प्रचण्डले किन भने-ओलीले अझै षड्यन्त्र गर्छन् ?
images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताएका छन् । सोमबार बुद्धिजिवीहरुसँगको अन्तर्क्रियामा बोल्दै उनले अदालतको निर्णयमाथि प्रभाव पार्ने षड्यन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाए । उनले सत्ताकेन्द्रित भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफूले पाएको दाबी पनि गरे ।  

प्रधानमन्त्री ओली इतिहासमा नै सबैभन्दा कलंकित र बद्नाम भएको तथा राजनीतिक भविष्य नै ओरालो लागिसकेकाले अन्तिम समयसम्म पनि षड्यन्त्रका गाेटीहरु चाल्न सक्ने खतरा रहेको प्रचण्डले दाबी गरे । प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउने, तर्साउने र कुनै न कुनै रुपले दबाबमा पारेर, खैजेडीमा पारेर निर्णयमाथि प्रभाव पार्ने खुला षड्यन्त्र गरेको उनले आरोप लगाए । हारेको अनुभूत गरेको भन्दै उनले नेपालको इतिहासमा प्रधानमन्त्री ओली सबैभन्दा कलंकित र बेइमान भएर जाने ठोकुवा गरे । उनले भने,‘केपीजी अब सिद्धिनुभयो र नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम प्रधानमन्त्रीको रुपमा, सबभन्दा निरंकुशको पनि तुच्छस्तरको निरंकुश, झुठ, बेइमानबाहेक केही नजान्ने निरंकुशको रुपमा नेपाली इतिहासमा बदनाम भएर जाने हुनुभयो । मलाई त कहिलेकाहीँ केपीजीलाई यसो सम्झिदाखेरी पनि कठै विचरा भन्न पनि मन लाग्छ । त्यत्रो वर्ष दु:ख गर्‍या हो । चौध वर्ष जेल पनि बस्या हो हुँदो रहेनछ नि त दृष्टिकोण र प्रवृत्ति नभएपछि त जेल बसेर पनि के हुँदो रहेछ र ? त्यसकारण उहाँचाहिँ ओरालो लागेकै रुपले बुझ्छु । अझै षड्यन्त्रका केही गोटीहरु चाल्नको लागि उहाँ जुनसुकै हदमा जाने खतरा पनि छ ।’   

उनले ढिलै भएपनि प्रतिनिधिसभा पुन:स्थापना हुने र सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने दाबी गरे । तथ्य, तर्क र प्रमाणले पुन:स्थापना हुने कुरामा आशंका गर्ने ठाउँ नभएको उनले बताए । यद्यपि संसद् पुन:स्थापना नै भएपनि ठुलो खेल चलिराखेको गन्ध आफूले पाएको उनले बताए।

images
प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - २१:४४:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology