काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै देउवाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । उनले चुनावअगाडि सबै नागरिकलाई खोप उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् । प्रधानमन्त्री देउवाको पदभारपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको थियो । सोही बैठकले सो निर्णय गरेको हो ।
देउवा मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले मंगलबार नै कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २ जना मन्त्रीलाई आफ्नो मन्त्रिपरिषद्मा थप गरेका छन् । कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र माओवादी केन्द्रबाट पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा र जनार्दन शर्माले अर्थमन्त्रीको शपथ लिएका हुन् ।
यसै गरी कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक हप्ताभित्र विशेष प्याकेज ल्याइने भएको छ । यस्तै शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरिनेछ । सरकारी, सार्वजनिक निकायमा श्रेस्ता प्रणालीमा आधारित कार्य योजना बनाइ कार्यान्वयनमा ल्याइने भएको छ । समग्र आर्थिक विकासका लागि विभिन्न विधामा आवश्यक दक्ष जनशक्तिको प्रक्षेपण गरी व्यवस्थापन गर्न वृहत् जनशक्ति योजना तयार गरिनेछ । विकास निर्माणको कामलाई तीव्रता दिने, अर्थ अभाव हुन नदिने, राष्ट्रिय हितलाई सर्वोपरि राखी छिमेकी मित्र राष्ट्रलगायत सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँगको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउँदै जाने सरकारको योजना छ ।