काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरदेखि जेलमा रहेका रेशम चौधरीसम्म १७ जनालाई हटाएको छ ।
जसपाको मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय कार्यकारिणी समिति कायम गरेको जसपाका प्रचार प्रसार विभागका डम्मर खतिवडाले बताए ।
‘पार्टीको आधिकारीकता दावी गर्दा अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने मात्रै जसपाका कार्यकारिणी सदस्य हुन् । अर्को पक्षमा दावी गर्नेहरु कार्यकारिणी समितिमा छैनन्’ उनले भने, ‘तत्कालका लागि ३४ सदस्यीय कार्यसमिति कायम भएको छ।अब थप्नु परेमा पार्टीले निर्णय गर्छ।’
सोमबार निर्वाचन आयोगमा भएको हेड काउण्टमा उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका थिए। महन्थ ठाकुरको पक्षमा १६ जना थिए भने रेशम चौधरी तटस्थ बसेका थिए।
जसपाको निर्णय अनुसार महन्थसहितका १६ जना र तटस्थ बसेका चौधरी अब कार्यकारिणी सदस्य रहँदैनन्। उनीहरुले अर्को पार्टी गठन नगरेको अवस्थामा सांसद पद भने कायम रहन्छ।
जसपाको कार्यकारिणी समितिको बैठक बुधबार पनि बस्दैछ। कार्यकारिणी समिति बैठकले कार्यविभाजनको समेत टुंगो लगाउने जनाइएको छ ।