Logo

आइतवार, श्रावण २४ गते २०८३

images

महानगरभित्र बैंकको शाखा खुल्यो, वडाअध्यक्ष महर्जनको एकवर्षदेखिको योजना सफल

महानगरभित्र बैंकको शाखा खुल्यो, वडाअध्यक्ष महर्जनको एकवर्षदेखिको योजना सफल

दैनिकी न्यूज

३०, श्रावण २०७८
महानगरभित्र बैंकको शाखा खुल्यो, वडाअध्यक्ष महर्जनको एकवर्षदेखिको योजना सफल
images

ललितपुर । ललितपुर महानगरपालिका परिसरमै नेपाल बैंकको शाखा सउञ्चालनमा आएको छ । सोमबारदेखि बैंकको शाखा सञ्चालन भएको हो ।

महानगरभित्र प्रवेश गर्नै स्थानमै शाखा छ । गावहालमा रहेको बैंकको शाखाबाट कार्य सञ्चालन गर्न असुविधा भएपछि महानगरभित्रै शाखा खोलिएको महानगरपालिका आर्थिक समितिका संयोजक तथा २१ का वडाध्यक्ष रविन्द्र महर्जनले जानकारी दिए ।

उनका अनुसार एकवर्षको अथक मिहेनतपछि बल्ल महानगरकै भवनमा बैंक स्थापना गर्न सकिएको हो । 'हामीले गएको वर्षदेखि नै महानगरभित्र बैंकको शाखा राख्न पहल गरेका थियौं,' महर्जनले भने, 'तर, कहिले के भन्ने कहिले के भनेर एकवर्ष लगाइदियो ।'

महानगरका २९ वडाबाट संकलन भएको राजस्व गाबहाल बैंकमा गएर जम्मा गर्दा जोखिम बढेपछि अघिल्लो वर्ष महर्जनसहितको टोलीले बैंकको शाखालाई महानगरमै ल्याउनेगरी तयारी गरेको थियो ।

बैंक र महानगरबीच सम्झौता भई सोमबारदेखि सञ्चालन भएको हो । सम्झौता पत्रमा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र नेपाल बैंक लिमिटेड ललितपुरका शाखा प्रबन्धक किरण डंगोलले हस्ताक्षर गरे ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरमै सरकारी बैंकको शाखा खुल्नु सुखद् भएको बताए । सुशासन कायम राख्नु महानगरको मुख्य उद्देश्य भएको बताउँदै उनले राजश्व बुझाउन आउने सेवाग्राहीलाई बैंकको यो शाखाले सहज बनाउने बताए ।

उपप्रमुख गीता सत्यालले महानगरमै बैंकको शाखा हुँदा सेवा थप प्रभावकारी हुने बताइन् ।

आर्थिक समितिका संयोजक तथा वडाध्यक्ष महर्जन महानगरको भवनमै बैंकको शाखा हुँदा सेवा प्रभावकारी हुने बताए । उनले महानगरमा आउने जनताको काम छिटो र व्यवस्थित गर्न सहज भएको दाबी गरे ।

सम्झौतापछि बोल्दै प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले झन्झटिलो प्रक्रिया अन्त्य हुने बताए । ‘अब महानगरका सेवाग्राही भौचर बोकेर कोठै पिच्छेका टेबुल टेबुल पुग्नु पर्दैन, अर्यालले भने, त्यो अवस्था अन्त्य हुनुपर्छ ।’

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले कला, संस्कृतिले सम्पन्न नगरपालिकाले उद्यमशीलताको क्षेत्रमा पनि वैभव सिर्जना गर्नु पर्ने बताए ।

महानगरले उद्यम गर्न चाहनेहरुका लागि बैंकहरुसँग सहकार्य गरी सस्तो व्याजदरमा ऋणको व्यवस्था गर्न मध्यस्तताको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७८ शनिवार - १२:३६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology